stcnepal long ad
ime life insurance
national life
global ime bank long

दुई दिने साप्ताहिक बिदापछि अस्पतालको ओपीडी सेवा अन्योलमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दुई दिने साप्ताहिक बिदाको सरकारी नीतिपछि देशभरका अस्पतालहरूमा आइतबार ओपीडी सेवा सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योलता देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिए पनि जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण अधिकांश अस्पतालहरूले सेवा बन्द गरेका छन्।

यसले टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीहरू प्रभावित बनेका छन्। सरकारको शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयसँगै आकस्मिक बाहेकका सेवामा समस्या देखिएको हो।

अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा निजामती कार्यालयसरह व्यवस्था लागू गर्न खोज्दा समस्या भएको सरोकारवालाहरूको भनाइ छ। कुनै अस्पतालले सेवा दिने र कुनैले नदिने अवस्थाले आइतबार उपचार खोज्ने बिरामीहरू थप अन्योलमा परेका छन्।

काठमाडौंमै केही अस्पतालबीच सेवा सञ्चालनमा असमानता देखिएको छ। वीर अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गरे पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका धेरै बिरामी सेवा नपाएर फर्किन बाध्य भएका थिए। सरकारी अस्पतालमा सस्तो उपचारको आशामा आएका सेवाग्राहीहरू विशेषगरी बढी प्रभावित भएका छन्।

यसैबीच नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारी निर्णयप्रति असहमति जनाएको छ। संघले जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण यस्तो निर्णय व्यवहारिक नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ।

संघका अनुसार अस्पताल सेवा अत्यावश्यक भएकाले पूर्ण रूपमा बन्द गर्न नहुने भए पनि ओपीडी सेवा नियमित जाँचका लागि हुने भएकाले बिदाका दिन सञ्चालन गर्नु उपयुक्त नहुने तर्क छ। हालको जनशक्तिले अतिरिक्त भार धान्न नसक्ने संघको भनाइ छ।

उता सेवाग्राहीहरूले भने सेवा दिने वा नदिने भन्दा पनि एकरूपता आवश्यक रहेकोमा जोड दिएका छन्। हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पतालले भने आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएका छन्।

IME Lifesidebar
kumari