प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आइतबार (२०८२ भदौ ८ गते) १०औैं प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम (Pre-Articleship Orientation Program) सम्पन्न गरेको छ ।
यो कार्यक्रम गत जुनमा सञ्चालिन चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षाको क्याप २ तह उत्तीर्ण गरेका विद्यार्थी लक्षित रहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रमको उद्देश्य परीक्षामा सफल भएका विद्यार्थीलाई पञ्जीकृत प्रशिक्षण सम्बन्धी आवश्यक जानकारी र क्याप ३ तहमा दर्ताको लागि आवश्यक प्रक्रिया सम्बन्धमा जानकारी प्रदान गर्नु रहेको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमको सुरुमा संस्थाका कार्यकारी निर्देशक सीए विमल डंगोलले सहभागीहरुलाई स्वागत गरेका थिए । सो क्रममा उनले उपस्थित सम्पूर्णलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरे ।
संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । ‘यो उचाइ प्राप्त गर्न अघि बढ्ने तपाईंहरुको यात्राको अन्त्य नभई सुरुआत हो, त्यसैले अझ धेरै मेहनतका निम्ति तयार रहनुहोला,’ उनले भने । संस्थाको सदस्य भएपछि प्राप्त हुने विभिन्न अवसरबारे समेत उनले जानकारी दिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले पनि प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा पञ्जीकृत प्रशिक्षणको क्रममा प्रशिक्षार्थीले पालना गर्नुपर्ने व्यवहार, प्रशिक्षार्थी तथा प्रशिक्षकको भूमिका र लेखापरीक्षण फर्मको अधिकार तथा कार्यक्षेत्र जस्ता विषय समावेश थियो ।
उनको प्रस्तुतीकरणमा कार्य वातावरण, लेखापरीक्षण फर्मको व्यावसायिक अभ्यास, व्यावसायिक संस्कृति, व्यवहार, आर्टिकल्ड प्रशिक्षार्थी र सिद्धान्त, अडिट फर्ममा जिम्मेवारी र अधिकार, तोकिएको अडिट फर्म र ग्राहक कार्यालयको वातावरण र व्यवहार सम्बन्धी विषयवस्तु पनि समावेश थियो ।
कार्यक्रममा संस्थाका शिक्षा महाशाखाका सहायक निर्देशक सीए गौरव खतिवडाले प्रशिक्षण सम्झौतासम्बन्धी नीतिगत आधार तथा प्रक्रियाका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।
प्रशिक्षक राजन कोइरालाले प्रशिक्षणका क्रममा गर्नुपर्ने सञ्चार, शिष्टाचार तथा व्यावसायिक आचरण र लेखापरीक्षण फर्मभित्र गर्नुपर्ने सञ्चारका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा संस्थाले आयोजना गरेको आइक्यान निबन्ध प्रतियोगिता (ICAN Essay Contest, 2025) का विजेता तथा उपविजेता क्याप ३ तहका विद्यार्थीलाई नगद तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
सो अवसरमा संस्थाका सदस्य सीए राजु गजुरेलले सूचना प्रविधिमा ठूलो परिवर्तन आएकोले लेखा क्षेत्रमा पनि सोहीअनुसार अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याए । उनले आउटसोर्सिङसम्बन्धी अवधारणा प्रस्तुत गर्दै विश्वव्यापी अवसरबारे जानकारी दिए ।
संस्थाका पार्षद् तथा बोर्ड अफ स्टडिजका सदस्य सीए उमेशराज पाण्डेयले धन्यवाद ज्ञापनका क्रममा जीवनका हरेक पक्षमा औचापरिक सञ्चार सीपको आवश्यकतामा जोड दिँदै आर्टिकलसिप प्रशिक्षणका क्रममा सिकाइमा ध्यान केन्द्रित गर्न विद्यार्थीलाई सुझाए ।

























