‘इनफ इज इनफ’ अभियानका २० जना प्रहरी नियन्त्रणमा
काठमाडौं । शान्तिपूर्ण प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट अगाडि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्चा, पम्पलेट बिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् ।
प्रहरीले राउत सहित, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटी लगायत २० जनालाई पक्राउ गरेको छ ।नियन्त्रणमा परेकाहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको बताइएको छ ।
‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।
हिजो शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटर अगाडि अभियानको शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले धरपकड गरेको थियो ।
शुक्रबार रन्जु दर्शजा, सुदन गुरुङ, आलोक सुवेदी, सुधन मानन्धर, शशिविक्रम कार्की, वृतान्त खनाल, सौरभ न्यौपाने, पवन थापा लगायत ५० भन्दा बढीलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।



























