नागार्जुनका मेयर मोहन बस्नेतलाई आठ बर्ष जेल सजायको फैसला

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई घुस लिए बापत ८ वर्ष र मेयर जस्तो ओहोदामा बसेका कारणले थप ३ महिनाको कैद सजाय सुनाएको हो ।
नौ करोड २२ लाख रुपियाँ घुस लेनदेन भएको ठहर सहित विशेषले बस्नेत र पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई दुई करोड ३० लाख रुपियाँका दरले जरिवाना मागेको हो । हाउजिङ र पद्मा मर्चेन्टले पनि त्यही दरले जरिवाना तिर्नुपर्नेछ ।
विशेष अदालतले बस्नेतलाई १३ करोड १२ लाख रुपियाँ सम्पत्ति शुद्धीकरण गरेकोमा दोषी ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा उनलाई ३ वर्ष कैद सजाय तोकिएको छ । त्यो कैद भने ८ वर्षको कैदमा गाभिनेछ ।
विशेष अदालतले उनलाई सम्पत्ति शुद्धीकरणमा २६ करोड २५ लाख रुपियाँ जरिवाना तोकेको छ । बस्नेतलाई थप २ करोड २६ लाख रुपियाँ जरिवाना पनि हुनेछ ।