stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारततर्फ सामान निर्यातको बाटो खुल्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ ।भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गर्नुभएको थियो । उहाँले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गर्नुभएको थियो ।

गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बिआइएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो । नेपालका तर्फबाट प्राथमिकताका साथ उठाइएपछि भारतीय पक्षले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।

भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्यातमा बिआइएस अनिवार्य गरेको छ । भारतले बिआइएस नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बिआइएस नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीले नेपाल सरकारलाई दबाब दिँदै थिए ।

नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार बिआइएस प्राप्त गरेपछि निर्यात सहज हुनेछ । उहाँले भारतले अहिले बिआइएस नवीकरण गरिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले करिब एक दर्जन उद्योगले बिआइएस नवीकरण गरिसकेको छ ।

केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पुर्‍याइएका ३४ ट्रक प्लाइउड बिआइएसको अभावमा नाकामै रहेको उहाँले जानकारी दिनुभयो । केही सिमेन्ट कम्पनीले पनि बिआइएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात गर्न लागेको जनाइएको छ ।

सो प्रमाणपत्र नवीकरणका लागि एक महिना म्याद अझै बाँकी रहेको छ । घिमिरेका अनुसार करिब तीन सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका र नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगले एक महिनाभित्र बिआइएस पाउनेछन् ।

IME Lifesidebar
kumari