stcnepal long ad
ime life insurance
national life
global ime bank long

इपिएस अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि २६ हजार तेस्रो चरणको भाषा परीक्षामा सहभागी भएकोमा तीन हजार १२६ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार यो सङ्ख्या हालसम्म सञ्चालन भएको तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो ।

यसअघिका दुई चरणको भाषा र सिप परीक्षा सम्पन्न भइसकेको थियो । भाषा परीक्षा पुस २ गते मङ्गलबार सकिएको थियो दक्षिण कोरिया जान सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम हुन थालेपछि परीक्षा सकिएलगत्तै नतिजा सार्वजनिक गरेको कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जनाएको छ ।

सो शाखाका अनुसार परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरण परीक्षा सञ्चालन भएको हो । १० महिनामा तीन चरणको परीक्षण सम्पन्न भएको हो ।

सो शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले भाषा परीक्षामा उत्तीर्णको सिप परीक्षाको समय तालिका यही साताभित्र सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन चरणमा लिएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार सय युवा छनोट गरेर पठाउने हो ।

पहिलो र दोस्रो चरणमा उत्तीर्ण युवा हाल रोस्टरमा रहेको र केही कोरिया गइसकेको सो शाखाले जनाएको छ । कोरियाले रोस्टरका रहेका युवालाई त्रैमासिक रूपमा छनोट गर्ने गरेका कारण हाल उत्तीर्ण भएका युवालाई यो अर्को वर्ष छनोट तालिकाभित्र पार्ने गरेको छ ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण सन् २०२५ मा धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना रहेको छ ।

सन् २०२३ मा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली दक्षिण कोरिया प्रवेश गरेकामा २०२४ को हालसम्म सात हजार युवा कोरिया गइसकेका छन् ।

नेपाली अन्य देशको तुलनामा मेहनती भएको बताउँदै कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार कोटामा १३.२ प्रतिशत थपेर १६ हजार चार सय बनाएको थियो ।

यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप विकास क्षेत्रबाट मात्र श्रमिक लग्दै आएकोमा यस वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ ।

prabhu mahalaxmi
kumari