stcnepal long ad
ime life insurance
national life
global ime bank long

जिपिएस प्रणाली जडान गर्ने योजनामा अलमल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। सार्वजनिक यातायातमा जिपिएस प्रणाली (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गर्ने सरकारी योजना अलपत्र छ ।

भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न तीन वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो । तर हालसम्म जम्मा ४० वटा सवारीसाधनले मात्र जडान गरेका छन् ।

यातायात व्यवस्था विभागले २०७८ मङ्सिरमा १०० वटा सवारीमा निःशुल्क सेवा दिएर जडान सुरु गरेको थियो । निःशुल्क भनिएका १०० मध्ये ६० वटा कोटा अझै बाँकी रहेको विभागले जनाएको छ ।

विभागले नमुना अभ्यासका लागि सवारीमा जिपिएस सुरु गरेको थियो । तर यातायात व्यवसायी नै अनिच्छुक भएपछि यो अभियानले गति लिन सकेको छैन ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार जडान गर्ने सिस्टम तयारी अवस्थामा छ । उहाँले भन्नुभयो, “थप प्रगति छैन, पुरानै कुरा हो ।”

विभागले जिपिएस प्रणाली जडान गर्न व्यवसायीलाई पटक पटक अनुरोध गरेको थियो । जिपिएस जडान गर्दा चालक र सहचालक पनि निगरानीमा हुने हुँदा व्यवसायी अनिच्छुक भएको विभागको दाबी छ ।

जिपिएसलाई अनिवार्य नगरिँदा व्यवसायीले अटेर गरिरहेको विभागले जनाएको छ । अनिवार्य बनाउनका लागि कानुनै बनाउनुपर्ने अवस्था छ ।

विभागले गण्डकी र मधेश प्रदेशको जनकपुरलाई केन्द्रित गरेर जिपिएस लागु गर्न खोजेको थियो । तर व्यवसायीले चासो नदेखाएपछि प्रभावकारी हुन सकेन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “विभागसँग नीति र कार्ययोजना छैन, हामी जडान गर्न तयार छौँ तर जिपिएस जोड्न आऊ भनेर मात्र हुँदैन । किन जोड्ने भन्ने कुरा क्लियर हुनु पर्छ । व्यवसायीलाई दोष दिएर विभाग पन्छिन मिल्दैन ।”

विभागका अनुसार जिपिएसले सवारीसाधन प्रत्यक्ष रूपमा अनलाइनबाट नियमन गर्छ । जिपिएस लागु गरिएपछि नियन्त्रण कक्षबाटै देशभरका सार्वजनिक सवारीमा व्यवस्थापन र नियमन गर्न सकिन्छ । ८० प्रतिशत सवारी दुर्घटना उच्च गतिका कारण हुने भएकाले सवारी दुर्घटना कम हुने पनेरूको भनाइ छ ।

जिपिएसमार्फत गाडीको रुट, गतिलगायतका जानकारी ट्राफिक प्रहरीलाई अनलाइनमै हुने छ । गाडीको गति र स्थानको जानकारी हुने छ ।

साथै सार्वजनिक यातायातका विकृति तथा हुन सक्ने आपराधिक घटना नियन्त्रणमा सहयोग हुने र ट्राफिक व्यवस्थापनमा पनि सहज हुने विभागको दाबी छ ।

IME Lifesidebar
kumari