एशियाका १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला काठमाडौंमा
काठमाडौं । एशियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला (एशिक कन्फरेन्स ) आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनमा विभिन्न १६ देशका सरकारी निकाय सहभागी हुनेछन् । ३६ औँ एशिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो ।
आज निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्सिकोत्सव एवम् एशिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आउँदो सोमवारसम्म सञ्चालन हुनेछ ।
सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ–आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिनुभयो ।
यसपटक सम्मेलनमा नवप्रवर्तनका विषयलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ देशका सुरक्षण संस्थाको सहभागिता रहनेछ ।