citizens life insurance long ad
stcnepal long ad
national life

बहुउद्देश्यीय जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा: विष्णु पौडेल

Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बहुउद्देश्यीय आयोजनाहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

बुधबार जलविद्युत्मा लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ऊर्जा, सिँचाइ, पर्यटन लगायतमा उपयोग हुनेगरी अब जलविद्युत् आयोजना बनाउनुपर्ने जोड दिएका हुन् ।

मन्त्री पौडेलले विगतमा जलविद्युत् आयोजनाहरू बनाउँदा सरकार र निजी क्षेत्र दुवैबाट गल्ती भएको बताए । मन्त्री पौडेलले भने, ‘विगतमा हामीले आयोजना बनाउँदा थुप्रै गल्ती गर्‍यौँ ।

अब त्यसो हुँदैन, सरकारले बहुउपयोगी जलविद्युत् आयोजना बनाउने कुरामा प्रतिबद्धता व्यक्त गर्दछ ।’

पौडेलले नेपालको समृद्धिको बलियो साधन जलस्रोत भएको बताए । नदी प्रणालीको सही उपयोग गरेर यसबाट फाइदा लिनुपर्ने पौडेलले बताए ।

मन्त्री पौडेलले भने, ‘प्रकृतिले सित्तैमा दिएको अथाह सम्पत्ति हामीसँग छ । यसलाई सरकारले चिनेको छ । निजी क्षेत्रसँग मिलेर हामी ऊर्जाको विकासमा तीव्र गतिमा अगाडि बढ्ने छौँ ।’

मन्त्री पौडेलले आयोजना निर्माणसँगै ट्रान्समिसन लाइनको निर्माण सरकारको उत्तिकै प्राथमिकतामा रहेको बताए । ‘ट्रान्समिसन लाइनविना आयोजना बनाउनुको कुनै अर्थ छैन । त्यसकारण पहिले आन्तरिक खपत अनि ठुलो मात्रामा निर्यातको योजनासहित सरकार अगाडि बढेको छ ।’

himalayan life insurance
igi long