citizens life insurance long ad
stcnepal long ad

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गर्नुभएको छ । उहाँले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गर्नुभएको हो ।

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिर्नुभएका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गर्नुभएको थियो ।

यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गर्नुभएका उहाँले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

सो अवसरमा उहाँले कुनै समस्या  भए कार्यालय प्रमुख मार्फत मन्त्रालयमा पठाउनसमेत निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई सहित अध्यागमन पुग्नु भएका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशकलगायतका सम्बन्धित निकायका प्रमुखहरुलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिनुभएको थियो ।

अनुगमनकै क्रममा गृहसचिव अर्यालले भन्नुभयो, “उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुहोला । जुनजुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीले इमान्दार भएर त्यो पूरा गर्नु, भएका उपकरणलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरु छिटो सक्नुस् ।”

प्रमुख अध्यागमन अधिकृत थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी दिनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बीच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले  भन्नुभयो, “अहिले २८ वटा  मेसिन सञ्चालनमा  रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । यसका लागि तीनवटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेका छन् । यहाँ कम्तीमा पनि सय जना प्रहरी अधिकारी आवश्यक छ ।”

IME Life
kumari