वैदेशिक ठगी मुद्दामा फरार ३ जना पक्राउ
काठमाडौँ । ‘विदेश पठाउँछु’ भनेर ठगेपछि फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका घर भएका ३२ वर्षीय रबिन तामाङ, काभ्रे घर भएका २३ वर्षीय सहदेव रिजाल र मकवानपुर घर भएका २० वर्षीय कविराज सुवेदी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर थप कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।
रबिन तामाङले अफ्रिका पठाउँछु भनेर पीडितहरूसँग ४ लाख ९० हजार लिएपछि सम्पर्क विहीन भएका थिए ।
आरोपी रिजालले क्यानडा पठाउँछु भनेर ८ लाख रुपैयाँ ठगी गरेका हुन् । कविराज सुवेदीले दुबई पठाउँछु भनेर ८० हजार लिएपछि सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् ।