आज यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात, तराईमा हावाहुरी जारी

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै, विभागले लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरी चल्ने पनि बताएको छ ।
त्यसैगरी राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने सोही प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।