citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

साल्ट ट्रेडिङको नाममा वशांली दाजुभाईको लुट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन कानुन विपरित कारोबार गरिरहेको पाइएको छ ।

साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रा.लि.सँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाइ कागज बिक्री गर्ने गरेको छ ।

साल्ट ट्रेडिङले सिंगापुरस्थित फुजीटो प्रा.लि. भन्ने कम्पनीबाट आउने कागज प्रिन्टसेललाई मात्र बिक्री गरिरहेकाले अरु कागजकै व्यवसायिक संस्थाहरु मर्कामा परेको व्यवसायीहरुको गुनासो रहेको छ ।

सिंगापुरस्थित फुजीटो कम्पनी ललितपुरको कुपण्डोलमा रहेको प्रिन्टसेलकै प्रधान कार्यालय हो भने यसको सञ्चालक पनि एकै परिवारका सदस्यहरु हुन् ।

प्रिन्टसेल दिपक वंशालीले रेखदेख गर्छन् भने फुजीटो उनका दाजु मनिष वंशालीले सञ्चालन गरिरहेका छन् ।

रञ्जित वंशालीका दुई पुत्रहरुको व्यापारिक संस्थासँग कागज खरिद गरेर साल्ट ट्रेडिङले प्रतिष्पर्धा गराउनुपर्ने कानूनी प्रावधानको ठाडो उल्लंघन गरेको निजी व्यवसायीहरुको पेशागत संगठन कागज व्यवसायी संघको आरोप लगाएको छ ।

संघका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशी कम्पनीसँग व्यापारिक कारोबार गर्न आवश्यक कानूनी पूर्व शर्त नै पालना नगरेको र प्रचलित खरिद ऐन तथा नियमावली अवज्ञा गरेको दाबी गरेका छन ।

साल्ट ट्रेडिङ, नेपाल सरकारको समेत स्वामित्व भएको र निश्चित उदेश्यका लागि स्थापना भएको संस्था हो । यो संस्थाले ती व्यापारिक फर्मसँग साँठगाँठ गरी अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्य भन्दा बढीमा कतै प्रतिस्पर्धा नै नगराइ मनोमानी ढंगले कागज खरिद गर्दै आएको संघको दावी छ ।

यसरी आयात गरिएको कागज अन्य कुनै पनि उपभोक्ता वा व्यापारीलाई बिक्री गर्न नमिल्ने र नबेच्ने गरी स्थानीय कम्पनी प्रिन्टसेललाई मात्र नगन्य मुनाफा लिएर एकाधिकार दिइ बिक्री गर्दै आएको पनि संघले जनाएको छ ।

अर्कोतिर फुजीटोको वेभसाईटमा प्रिन्टसेललाई उसको सब्सीडायरी भनिएको छ । जबकि कुनै पनि नेपाली कम्पनी विदेशी कम्पनीको सब्सीडायरी हुनका लागि विदेशी लगानीको स्वीकृति लिई वैधानिक बाटोबाट लगानी हुनुपर्छ । तर त्यस्तो कुनै कानूनी प्रक्रिया पूरा गरिएको देखिँदैन ।

यसबाट विदेशी मुद्रा अपचलन, सम्पत्ति शुध्दीकरण र सार्वजनिक खरिद ऐन नियमको समेत उल्लंघन भएको संघको भनाइ छ ।

कागज पठाउने र यहाँ बिक्री गर्ने कम्पनी एउटै परिवारको भएको र साल्ट ट्रेडिङलाई प्रयोग गरेर एकलौटी व्यापार गरिरहेको भएपनि साल्ट ट्रेडिङका शेयर होल्डरहरु यसबाट पूर्ण रुपमा अनभिज्ञ रहेको पाइएको छ ।

यसबारेमा अधिवक्ता भेषराज पन्तले यस किसिमको व्यवसायिक कारोबार गर्न प्रचलित कानूनी प्रवन्धको पूर्ण पालना हुनुपर्ने बताएका छन् ।

साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ भने कागजको व्यापार गर्ने भनेर वाणिज्य विभागमा दर्ता भएर एजेन्टको काम गरिरहेको बताउँछिन् ।

साल्ट ट्रेडिङले सरकारकै महत्वपूर्ण संस्थाहरु कागजको अभावमा बन्द हुने अवस्थामा पुग्दा समयमै कागज उपलव्ध गराएर जोगाएको उनको भनाइ छ ।

‘पाठ्यपुस्तक छाप्ने जनक शिक्षा सामग्री केन्द्र लि। र गोरखापत्र संस्थानलाई साल्ट ट्रेडिङले नै कागज उपलव्ध गराएकाले ती संस्थाले आफ्नो नियमित काम सम्पन्न गर्न पाएका हुन्’ श्रेष्ठले भनिन् ।

साल्ट ट्रेडिङले प्रिन्टसेललाई मात्र कागज बिक्री नगरेको र अरुले पनि खरिद गर्न चाहे उपलव्ध गराउने बताउँदै श्रेष्ठले टेण्डर पारेरै यो काम गरेको स्पष्ट पारिन् ।

‘हामीले कम मार्जिन राखेर व्यापार गरेका छौं तर अरुको बढी छ, अरु व्यवसायी पनि टेण्डर प्रतिष्पर्धामा गएर काम गरे भैहाल्यो नि तर कोही पनि आउँदैनन्’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन् ।

साल्ट ट्रेडिङको व्यवसायिक मन्त्र

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शक्ति र इमान्दारिताको प्रतीकका रूपमा भगवान भीमसेनको गदालाई आफ्नो लोगोका रूपमा ग्रहण गरेको छ ।

गदा मुनि लेखिएको शब्दहरू छन्, ‘सत्य मेव परम धनम्’ जसको अर्थ ‘इमानदारी सबैभन्दा ठूलो धन हो’ र यो मन्त्र महाभारतबाट लिइएको हो ।

तसर्थ, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लोगोले इमान्दार व्यवसायिक अभ्यासहरूको शक्ति र लोकाचारको प्रतीकको सन्देश दिन्छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सिद्धान्त र व्यवहारमा कुनै पनि विचलन बिना यो मूल्यको पालना गर्न प्रतिबद्ध छ भनिएको छ ।

gold
himalayan life insurance long ad