काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । महानगरपालिकाले मंसिर २७ गतेबाट सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरे बमोजिम नयाँ नियम लागू भएको हो ।
महानगरका मेयर बालेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णनिषेध गरिने घोषणा गरेका छन् । यो निर्णय सकारात्मक भएपनि कार्यान्वयनमा भने आशंका गरिएको छ ।
विगतमा पनि मेयर साहले गरेका यस्तो लोकप्रिय निर्णयको कार्यान्वयन नभएकाले पछिल्लो निर्णय पनि कार्यान्वयन हुनेमा धेरैले शंका गरेका छन् ।
महानगरपालिले यसअघि असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न प्रतिबन्ध लगाएपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । त्यस्तै मेयर साहले महानगरभित्र खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउन नपाइने घोषणा गरेका थिए ।
गत साउन १ गतेदेखि मापदण्ड तोकेर प्लाष्टिकको प्रयोगमा निषेध गरिएको थियो । तर त्यसको अनुगमन नहुँदा कार्यान्वयनमा आएको देखिदैन ।
मेयर साहका धेरै घोषणाहरु कार्यान्वयन हुन नसिकरहेकाबेला सुर्तीजन्य वस्तुको बिक्री वितणमा रोक लगाउने निर्णयको कार्यान्वयन पुरा होला रु धेरैले चासोका साथ पर्खिएका छन् ।






















