sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सात वर्ष बित्दा पनि बनेन कालिगण्डकीको पुल, ठेकेदार सम्पर्क विहीन

Nimb long ad
Prabhu Insurance Long Ad

म्याग्दी । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण मुस्ताङको कालिगण्डकी नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । पाँच वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । समयमै पुल निर्माण नहुँदा करिब ६०० जनसङ्ख्या प्रभावित भएका छन् ।

पटक पटक ठेक्का सम्झौताको म्याद थप भए पनि पुल निर्माण गर्न ठेकेदारले वेवास्ता गर्दै आएको स्थानीयवासीको भनाई छ । समयमै पुल निर्माण सम्पन्न नहुँदा आवतजावतमा समस्या भएको स्थानीयवासी वीर विक्रम विकले बताउनुभयो ।

कालिगण्डकी कोरिडोर सडक देखि थासाङ गाउँपालिका वडा नम्बर ५ कुञ्जोलाई जोड्न ७ वर्ष अघि मोटरे बल पुल निर्माण थालिएको थियो ।

एक सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरे बल पुल निर्माणका लागि वि।स। २०७३ भदौ २२ गते तिन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबिच ठेक्का सम्झौता भएको थियो ।

निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी १४ करोड १९ लाख ६५ हजार ८सय ८१ रुपियाँ पुगेको छ । पुलको दुवै तर्फ पिल्लर निर्माण गरिएको छ भने बाँकी काम अलपत्र अवस्थामा छ ।

कुुञ्जोतर्फको पिल्लर काली गण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुई वर्ष रोकिएको पुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

पुल निर्माणका लागि पटक पटक ठेकेदारलाई ताकेता गर्दा पनि अटेर गरेको कार्यालयले जनाएको छ ।

कुञ्जोको ताकलुङका बासिन्दा धिरेन्द्र विकले कालीगण्डकीमा मोटरे बल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवतजावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताउनुभयो ।

“पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ,” उहाँले भन्नुभयो “स्थानीयबासीलाई आवत जावतमा असुविधाका साथै आलु लगायत गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा समस्या भएको छ ।”

कालीगण्डकीमा मोटरे बल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको, आलु, साग, किवी लगायत तरकारी तथा फलफूल बजार निकासीका लागि ढुवानीको समस्या भएको स्थानीयबासीहरुले गुनासो पोखे ।

शनिवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेसमबहादुर जुग्जालीले पुलको निरीक्षण गर्नुभएको छ ।

निर्माण स्थलमा भेला भएका स्थानीयहरूलाई मन्त्री जुग्जालीले पूर्वाधार विकास कार्यालय, मन्त्रालयका अधिकारी, निर्माण व्यवसायीसँग पुल निर्माणमा भएको ढिलाइका विषयमा छलफल गरी निर्माणलाई गति दिने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

निर्माण व्यवसायीलाई जति सक्दो छिटो काममा फर्काउन ताकेता गरिने र काम नगरे कारबाहीसँगै ठेक्का तोडेर पुल निर्माणलाई पूर्णता दिने उहाँको भनाई थियो ।

मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाँलाई फोन गरी पुल निर्माणमा भएको ढिलाइ, बाढी र कटानका कारण सिर्जना भएको निर्माणाधीन पुलको पिल्लर संरक्षण लागि गर्न सकिने पहलका विषयमा मन्त्री जुग्जालीले जानकारी लिनुभएको थियो ।

एलआरडिपीका विज्ञहरूको टोलीले सो पुलको निरीक्षण गरेको र टोलीको सुझावको आधारमा जोखिम न्यूनीकरण तथा पुल संरक्षणको काम गर्ने र पुल निर्माणलाई गति दिन आवश्यक प्रक्रिया अगाडी बढाउने तयारी भएको निर्देशक बानियाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

gold
prabhu bank
nawakantipur long