citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

छठका कारण महँगियो फलफूल

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ । तिहारको तुलनामा छठमा केरा महँगो भएको छ । छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शुक्रबार केरा प्रतिदर्जन १५० देखि १७० रुपियाँमा कारोबार भएको छ ।

तिहारको दिनसम्म केरा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो । नेपाल फलफूल थोक व्यवसायी सङ्घका अनुसार छठमा बढी माग हुने भएकाले मूल्य बढेको छ ।

छठलाई लक्षित गरेर बजारमा केरा, मौसम, सुन्तलालगायतका फलफूल भारतबाट भित्र्याइएको छ भने स्याउ भारत र चीनबाट भित्र्याइएको छ ।

कालीमाटी, कुलेश्वर, बल्खु, बालाजु बानेश्वर, धुम्बाराही, कोटेश्वर, जडीबुटी, एकान्तकुना, जोरपाटीलगायत काठमाडौँ उपत्यकाको ठाउँ ठाउँमा फलफूलका थोक बजारबाट फलफूलको कारोबार हुने गरेको छ ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार काठमाडौँ उपत्यकामा भित्रिने कुल फलफूलको ८० देखि ८५ प्रतिशत कालीमाटी र कुलेश्वरको बजारबाट अन्य बजारमा सप्लाई हुन्छन् ।

सङ्घका अध्यक्ष अम्बर बानियाँले उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लग्ने गरेको बताउनुभयो ।

उहाँले छठमा विशेष गरी केरा, नरिवल, उखु बढी माग हुने गरेको र योबाहेक स्याउ, सुन्तला, मौसमको पनि माग भएको जानकारी दिनुभयो ।

धनीहरूले किबी र ड्रागन फ्रुटलगायत महँगा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूलको पनि विगतका तुलनामा कारोबार बढेको उहाँको भनाइ छ ।

सङ्घका अनुसार नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीयले माग धानेको छ ।

छठमा अधिकांश माग भारतबाट आएको केराले धान्ने गरेको अध्यक्ष बानियाँले बताउनुभयो । तिहार र छठको बिचमा ६०/६५ करोड मूल्यको केरा भारतबाट भित्रिएको छ ।

भारतीय केरा हेर्दैमा आकर्षक र ठुलो पनि हुने भएकाले आम उपभोक्ताले नेपाली केराभन्दा भारतीय केरा बढी किन्ने गरेको व्यापारी बताउँछन् ।

बल्खुका केरा व्यापारी अम्लेन्द्र साहले नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा आकर्षक नदेखिने भएकाले धेरैको माग भारतीय केराकै हुने गरेको अनुभव सुनाउनुभयो ।

उहाँका अनुसार नेपाली केरा प्याकेजिङ राम्रो नहुने र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि भारतकै केरा किन्ने गर्छन् ।

सङ्घका अनुसार भारतीय काश्मीरी चक्लेटी स्याउ प्रतिकेजी थोक मूल्य २६० देखि ३६० रुपियाँ रहेको छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी २६० देखि २८० रुपियाँसम्म पर्छ ।

सङ्घले उपत्यकावासीको कुल स्याउ खपत वा मागको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले धान्ने गरेको छ । अन्य माग चीन र भारतको स्याउले धान्ने गरेको छ ।

सुन्तला प्रतिकेजी १३० देखि १६० रुपियाँ रहेको छ भने मौसम प्रतिकेजी १८० देखि २२० रुपियाँ रहेको छ । मौसममा भारतमै भर पर्नुपर्ने र सुन्तलाको हकमा नेपाली सुुन्तला फाट्टफुट्ट आए पनि धेरै भारतकै सुन्तला बजारमा रहेको छ ।

बढी मूल्य लिनेलाई जरिबाना

यसैबिच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार छठलक्षित गरेर अनुगमन गरी चार वटा फलफूल व्यवसायीलाई जरिबाना तथा कारबाही गरेको छ । विभागको नेतृत्वमा  उपत्यकाका विभिन्न ठाउँमा भएको अनुगमनका क्रममा बढी मूल्य लिने फलफूल पसललाई १० हजारका दरले जरिबाना गरेको हो ।

विभागका निर्देशक आनन्दराज पोखरेलले विभागको नेतृत्वमा खटिएको अनुगमन टोलीले शुक्रबार काठमाडौँको गौरीघाट, कुलेश्वर र कालीमाटी क्षेत्रका व्यवसायीले फलफूलमा मनलाग्दी मूल्य लिएको पाइएपछि कारबाही गरेको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

gold
himalayan life insurance long ad