macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

दसैँ सकिए लगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थाले

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पर्सा । दसैँ सकिए लगत्तै प्याजको मूल्य आकासिएपछि सीमानाकामा प्याजको अवैध व्यापार बढ्न थालेका छन् । दसैँअघि प्रतिकिलो ४० देखि ५० रुपियाँमा बिक्री हुने प्याज अहिले १२० देखि १३० रुपियाँ पुगेको छ ।

सीमापारिको भारतीय बजार रक्सौलमा बढीमा ८० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको प्याज स्थानीय तस्करले वीरगन्जसम्म ल्याएर महँगोमा बेचिरहेका छन् ।

प्रतिदिन सयौँको सङ्ख्यामा साइकल, टेम्पो र इरिक्सामा तस्करले सुरक्षा चेकजाँचमा खटिएका सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी वीरगन्ज भन्सार नाकाको मूल बाटोबाट प्याज ल्याउने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

वीरगन्ज भन्सार नाकाको फरक फरक ठाउँमा पहिलो घेरामा भन्सार गार्ड, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा जनपद प्रहरीको सुरक्षा तथा चेकजाँच पोस्ट रहेको छ ।

तस्करले यी तीनै तहका चेकपोस्टमा सामान र परिमाण अनुसार पैसा दिँदै मालसमान ल्याउने गरेको प्रत्यक्षदर्शी रामकिशोर साहले बताउनुभयो ।

व्यवसायी चन्द्रिकाप्रसाद केशरीका अनुसार तस्करले प्याज, खाने तेल र चिनीलगायतका अन्य दैनिक उपभोगका सामान भारतीय बजारको परल मूल्यमा आठदेखि १० रुपियाँ प्रतिकिलो ढुवानी खर्च दिएपछि पसलसम्म ल्याइदिने गरेका छन् ।

तरकारी तथा फलफूल व्यवसायी सङ्घ पर्साका अध्यक्ष विदुर गुप्ताले वीरगन्ज महानगरपालिकामा मात्रै होटेल तथा घरायसी प्रयोजनका लागि तरकारी तथा मासुको सबै जसो परिकारमा प्रयोग हुने प्याज प्रतिदिन दुईदेखि तीन हजार किलोको हाराहारीमा खपत हुने गरेको बताउनुभयो ।

भन्सार अधिकृत तथा सूचना अधिकारी रामचन्द्र ढकालले भन्सार तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७९/८० को साउनदेखि तीन महिनामा १७ लाख ९० हजार तीन सय केजी प्याज आयात भएकामा आव २०८०र८१ को बजेट मार्फत प्याजमा मूल्य अभिवृद्धि कर लगाएपछि आव २०८०/८१ को तीन महिनामा तीन लाख २९ हजार एक सय केजी प्याज आयात भएका छन् । यो महिनामा एक किलो पनि प्याज वैधानिक रूपमा नआएको उहाँको भनाइ छ ।

प्याजको आयातमा कृषि सुधार शुल्क नौ प्रतिशत, भ्याट १३ प्रतिशत र अग्रिम आयकर पाँच प्रतिशत गरी २७ प्रतिशत कर लाग्ने गरेको छ ।

भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत निर्यात कर लगाएपछि व्यवसायी वैधानिकभन्दा पनि अवैधानिक बाटो रोज्ने गरेका छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म (वीरगन्ज भन्सार) वीरगन्जका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले व्यवहारमा घरायसी प्रयोजनका लागि दुई चार किलो प्याज, चिनी र अन्य दैनिक उपभोगका सामान छाडिएको भए पनि ठुलो परिमाणमा कुनै सामान नछाडिएको दाबी गर्नुभयो ।

 

१९ कात्तिक २०८०, आइतवार ०७:०८ बजे प्रकाशित

NTA long ad