macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पेट्रोलियम पदार्थको खपत बढ्यो

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो ।

चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो ।

अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ ।

नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्षको दसैँमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दसैँमा इन्धनको खपतमा वृद्धि भएको जानकारी दिनुभयो । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा डिजेल, पेट्रोल र हवाई इन्धनको माग उच्च हुँदा खपतमा समेत वृद्धि भएको उहाँको भनाइ छ । गत वर्षको दसैँको तुलनामा यस वर्ष डिजेल र पेट्रोलको खपत बढेको उहाँको भनाइ छ ।

निगमका अनुसार गत वर्ष असोज १० देखि २३ सम्म दुई करोड ६९ लाख ४४ हजार ६०७ लिटर पेट्रोल खपत भएकामा यस वर्ष असोज २८ देखि कात्तिक ११ सम्म दुई करोड ९८ लाख ५८ हजार ६५८ लिटर खपत भएको छ ।

यस्तै गत वर्षको दसैँ अवधिमा दुई करोड ९७ लाख २८ हजार ९९४ लिटर डिजेल खपत भएकामा यस वर्ष तीन करोड ७७ लाख आठ हजार ९४३ लिटर खपत भएको निगमले जनाएको छ । सामान्य अवस्थाको तुलनामा दसैँका बेला दोब्बर बढी डिजेल खपत हुने गर्छ ।

निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ ।

यसैबिच भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ६३ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) आयात भएको छ ।

साउनदेखि असोजसम्म २९ अर्ब ९२ करोड १६ लाख चार हजार रुपियाँ बराबरको दुई लाख ६९ हजार ८७६ किलोलिटर डिजेल आयात भएको छ । यस्तै पेट्रोल १७ अर्ब १० करोड ८७ लाख ३९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार ५९४ किलोलिटर आयात भएको छ ।

यस्तै चार अर्ब ७० करोड ३७ लाख १२ हजार रुपियाँ बराबरको ४३ हजार ५८० किलोलिटर हवाई इन्धन आयात भएको छ । ११ अर्ब ६२ करोड ७१ लाख ६३ हजार रुपियाँको एक लाख ३२ हजार ५७७ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको विभागको तथ्याङ्क छ ।

निर्यातभन्दा बढीको इन्धन आयात

चालु आर्थिक वर्षको तीन महिनामा कुल निर्यातभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । साउनदेखि असोजसम्म मुलुकबाट ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपियाँ बराबरको वस्तु निर्यात हुँदा ६६ अर्ब १२ करोड ९६ लाख रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । तीन महिनामा इन्धन आयात ५।७ प्रतिशतले वृद्धि भएको छ ।

बजारमा खपत बढेसँगै आयातमा समेत वृद्धि भएको छ । पेट्रोलियम पदार्थले मात्रै कुल वस्तु आयातको १८ प्रतिशत हिस्सा ओगटेको छ । पेट्रोलियम पदार्थ मात्रै आयात गरेर २६ अर्ब ७६ लाख रुपियाँ भन्सार राजस्व सङ्कलन भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

१४ कात्तिक २०८०, मंगलवार ०६:१९ बजे प्रकाशित

NTA long ad