दसैंका कारण काठमाडौंका सडक सुन–सान
काठमाडौं । दसैंका कारण काठमाडौंका सडक सुनसान देखिएका छन् । सडकमा सवारी साधानको संख्या पातलिएको छ ।
स्थानीयहरु घरघर दसैं मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो ।
घटस्थापनादेखि नै मानिसहरु काठमाडौंबाट बाहिरिन सुरु गरेका थिए । दैनिक एक लाखको हाराहारीमा मानिसहरु बाहिरिएका थिए । दसैमा अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो ।
सडकमा निजी क्षेत्रका एकाध सवारी साधन मात्रै गुडेका देखिन्छन् भने पैदलयात्री पनि न्यून देखिन्छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले उपत्यकामा सवारी चाप अति कम रहेको र ट्राफिक व्यवस्थापनको स्थिति सामान्यतः रहेको जनाएको छ ।