मणिपालको विषयमा अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति

पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर उत्पन्न विवादमा सहमति जुटेको छ ।
अस्पताल प्रशासन र पीडित पक्षबीच बिहीबार राति ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिबमोजिम मृतक सुकमाया दुराको स्मृतिमा मणिपालले लमजुङको सुन्दरबजार नगरपालिकाभित्र वर्षमा १ पटक (सकेसम्म पुण्यतिथि) मा विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यस्तो शिविरमा कम्तीमा १० वर्षसम्म हुनेछ ।
यस्तै, अल्पसंख्यक दुरा जातिको लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनी सिफारिस गरेको अवस्थामा अस्पतालले त्यस्ता बिरामीको उपचारमो छुट तथा निःशुल्क गर्ने, सुकमायाको मृत्युको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने, चिकित्सकलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका विनय गुरुङमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसुर मुद्दामा कानुनी रीत पु¥याई यथाशीघ्र सहजीकरण गर्ने सहमतिबमोजिम दुवै पक्षले विरोधका कार्यक्रम फिर्ता लिएका हुन् ।
दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयको रोहवरमा पटक पटक वार्ता बसे पनि ३ दिनदेखि सहमति जुट्न सकेको थिएन ।
गत आइतबार लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुरा मणिपालमा उपचारार्थ भर्ना भएकोमा उनको सोमबार दिउँसो मृत्यु भएको थियो । उनको मृत्युमा चिकित्सकको लापरबाही भएको भन्दै मृतकका आफन्त आन्दोलित थिए ।
सोमबार मणिपालमा पीडित पक्ष र चिकित्सकबीच झडप भएको थियो । प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा पोखराको मालेपाटन निवासी विनय गुरुङलाई पक्राउ गरी ७ दिनको म्याद थपसहित अनुसन्धान थालेको छ ।
चिकित्सकहरु भने आफूहरुको असुरक्षा भएको भन्दै एप्रोनसहित सडक आन्दोलनमा उत्रिएका थिए ।
उता, नेपाल चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्ष डा. राजन शर्माले आफूहरुको आन्दोलन भने जारी रहेको बताउँछन् । उनले मणिपालको विषयमा विवाद टुंगे पनि आफूहरुको आन्दोलन जारी रहेको उनले बताए । संघको आह्वानमा गण्डकी प्रदेशका अस्पतालहरुको ओपिडी सेवा ३ दिनदेखि बन्द छ । आजको राजधानी दैनिकमा समाचार छ ।
१२ असोज २०८०, शुक्रवार ०५:१३ बजे प्रकाशित