कालोसूचीमा १३ निर्माण कम्पनी परे
काठमाडौं । तोकिएको समयमा निर्माण पूरा नगर्ने १३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो।
कार्यालयको भदौ १८ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।
सूचना प्रकाशित भएको मिति भदौ १९ देखि लागू हुने गरी कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले बताएको छ।
काठमाडौंको स्वयम्भू ठेगाना भएको चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेश कन्स्ट्रक्सन, कञ्चनपुर, शुक्लाफाँटा–१० ठेगाना भएको गणपति कन्स्ट्रक्सन कालोसूचीमा परेका छन्।
चुलिडाँडा डेढ वर्ष, इपिक कम्प्युटर्स र मकर गणेश कन्स्ट्रक्सन एक वर्ष कालोसूचीमा परेका छन् भने गणपति कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ ।