महँगियो चामल र तेल
काठमाडौँ। उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढेपछि उपभोक्ताको भान्सा महँगिएको छ । व्यवसायीका अनुसार तीन महिनाको छोटो अवधिमै प्रतिकेजीमा २० रुपियाँ र प्रतिबोरा चामलमा ३५० देखि चार सय रुपियाँसम्म मूल्यवृद्धि भएको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो तीन महिनामा स्टिम जिरा मसिना चामल प्रतिकेजी ८० रुपियाँबाट एक सय रुपियाँ र त्रिशूलीको पोखरेली चामल प्रतिकेजी ९५ रुपियाँबाट १२० रुपियाँ पुगेको छ ।
त्यस्तै लङ्ग्रेन बासमती चामल प्रतिकेजी १७५ रुपियाँबाट बढेर १९० रुपियाँ भएको छ । सङ्घका महासचिव अमुलकाजी तुलाधरले पछिल्लो महिनामा चामलको भाउ अस्वाभाविक रूपमा थोकमै बढेको बताउनुभयो । अहिले चामलको भाउ बढाउनुपर्ने अवस्था नभए पनि जेठको सुरुदेखि नै चामलको भाउ बढेको उहाँको भनाइ छ ।
नेपाल चामल, तेल, दाल उद्योग सङ्घले नेपाल पूर्ण रूपमा आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजार, विशेष गरी भारतको नीतिको प्रत्यक्ष असर नेपाली बजारमा परेको दाबी गरेको छ ।
सङ्घका अनुसार भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी प्रतिकूलताका कारण उत्पादनमा आएको कमी र भारतमै धानको न्यूनतम समर्थन मूल्य बढाइएकाले नेपाली बजारमा मूल्यमा यसको असर देखिएको हो ।
चामल उद्योग विभोर अग्रवालले भारतले बङ्गलादेशका लागि चामल निर्यातको कोटा खोलेका कारण पनि माग बढ्न गई मूल्यमा थप चाप परेको बताउनुभयो । बङ्गलादेशले आफ्नो आन्तरिक खाद्य भण्डारण बढाउन र मूल्य नियन्त्रण गर्न भारतबाट नौ लाख मेट्रिक टन चामल आयात गर्ने योजना बनाएको छ, जसको असर आपूर्ति शृङ्खलामा देखिएको छ ।
साल्ट टे«डिङ कर्पोरेसनका अनुसार तीन महिनाअघि एक हजार आठ सय रुपियाँमा बिक्री गर्दै आएको २५ केजीको जिरा मसिनो चामलको अहिले बढेर दुई हजार ३३० रुपियाँमा बिक्री भइरहेको छ । कर्पोरेसनका बिक्रीवितरण प्रबन्धक प्रमुख प्रज्वल प्रधानले पछिल्ला दुई/तीन महिनायता जिरा मसिनो र बासमती चामलको मूल्य महँगो हुँदै गएको बताउनुभयो ।
उहाँका अनुसार सोना मन्सुली चामलको मूल्य पनि प्रतिबोरा एक हजार ३५० बाट बढेर एक हजार ७५० रुपियाँ र बासमती (लङग्रेन) २० केजीको मूल्य तीन हजार पाँच सय रुपियाँ पुगेको छ । खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले बजारमा मन्दी छाएको र उपभोक्ताले अत्यावश्यकबाहेकका सामान किन्न छाडेको अनुभव सुनाउनुभयो ।
बढ्यो खानेतेलको मूल्य
भारततर्फ निर्यात बढेपछि आकासिएको खानेतेलको मूल्य अहिले अझै बढेको छ । सङ्घका अनुसार पछिल्ला केही महिनादेखि बढेको खानेतेलको मूल्य अहिले प्रतिलिटर ३० रुपियाँ बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार असार १ गते प्रतिलिटर ३५० रुपियाँ रहेको काँचो तोरीको मूल्य साउन १ गतेदेखि बढेर प्रतिलिटर ३८० रुपियाँ र भुटेको तोरीको तेल प्रतिलिटर ४३० रुपियाँबाट बढेर ४६० रुपियाँ पुगेको छ । बजारमा अहिले भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २९० रुपियाँँसम्म पुगेको सङ्घले जनाएको छ ।





















