बोटलर्स नेपालका दुइटै कम्पनीको नाफा घट्यो

काठमाडौं । बोटलर्स नेपालका दुइटै कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नाफा घटेको छ आर्थिक क्षेत्रमा देखिएको सुस्तताले कम्पनीको बिक्री वितरणमा कमी आएपछि नाफामा असर परेको हो ।
कम्पनीका अनुसार उपभोक्ता खर्चमा कमी, उत्पादन लागत वृद्धि, कच्चा पदार्थको स्रोतमा चुनौती र मुद्राको अवमूल्यन र मुद्रास्फितीका कारण आम्दानीमा असर गरेको छ ।
तर, उत्पादनमा बढावा, बजार पहुँच विस्तार गर्ने, लागत बचत गर्ने र उत्पादनमा नवीनता जस्ता रणनीतिक पहल मार्फत आम्दानी वृद्धि गर्ने कम्पनीले जनाएको छ ।
चालु आर्थिक वर्षको चैतसम्म बोटलर्स नेपाल (तराई) ले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत वर्षको चैतमा कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ६९.१० प्रतिशत घटेको हो ।
यसअवधिमा कम्पनीको आम्दानी ४ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
चैतसम्म कम्पनीले १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
कम्पनीको वित्तीय खर्च १३ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको चैतमा कम्पनीको वित्तीय खर्च २० करोड १२ लाख रुपैयाँ थियो ।
१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यसको जगेडा कोष (रिजर्भ) मा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८८ रुपैयाँबाट घटेर ८९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३ हजार ४९७ रुपैयाँ छ ।
यस्तै, यता, बोटलर्स नेपाल (बालाजु) को खुद नाफा ७३.३१ प्रतिशत घटेर १ करोड ५९ लाख ७९ हजार रुपैयाँ खुद आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसअवधिमा कम्पनीले ७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ७ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
चालु आवको चैतसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ यस्तो नाफा गरेको थियो । चैतसम्म कम्पनीको सञ्चालन नाफा २३ करोड २१ लाख रुपैयाँ रहेको छ ।
१९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँबाट घटेर ६ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ४१२ रुपैयाँ रहेको छ ।