अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह
काठमाडौँ । नेपाल आयल निगमले आत्तिएर अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।
निगमले अतिरिक्त सिलिन्डर खरिद गर्दा अर्को व्यक्तिलाई आवश्यक परेको ग्यास नपुग्न सक्ने भन्दै आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न अनुरोध गरेको हो ।
निगमले गत वर्षका तीन महिना र चालु वर्षका तीन महिनामा बिक्री भएको एलपी ग्यासको तुलनात्मक विवरणसमेत सार्वजनिक गरेको छ ।
विवरण अनुसार २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५ सिलिन्डर बिक्री भएकोमा २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बिक्री भएको छ ।
त्यस्तै, २०८२ श्रावणमा ३१ लाख २१ हजार ४८ सिलिन्डर बिक्री भएकोमा २०८३ श्रावणमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।
२०८२ भाद्रमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएको थियो । चालु वर्ष २०८३ भाद्र २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।
दैनिक रूपमा आपूर्ति अवस्थाबारे जानकारी गराउने
निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर सक्रिय रहेको जनाएको छ । साथै, आपूर्ति तथा बजार अवस्थाबारे अद्यावधिक सूचना दैनिक रूपमा जानकारी गराउँदै जाने प्रतिबद्धता जनाएको छ । निगमले उपभोक्ताको धैर्य, सहयोग र समझदारीका लागि धन्यवाद समेत दिएको छ ।























