stcnepal long ad
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकले ५ हजार २३९ ऋणीलाई ब्याज अनुदानमा ७.११ अर्ब ऋण दियो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न शीर्षकमा ५ हजार २३९ ऋणीलाई ७ अर्ब ११ करोड ७७ लाख ८२ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैंकको गत असार मसान्तसम्मको विवरणअनुसार स्वीकृत कर्जामध्ये ४ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ बक्यौता रहेको छ ।

यस्तै, सहुलियतपूर्ण कर्जाबापतको ब्याज अनुदानतर्फ २१ करोड ४९ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुन बाँकी रहेको बैंकले जनाएको छ । उक्त ब्याज अनुदान प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको बैंकको भनाइ छ ।

बैंकले सबैभन्दा धेरै कर्जा व्यावसायिक कृषि तथा पशुपन्छी शीर्षकमा प्रवाह गरेको छ । यस शीर्षकमा ३ हजार ८१६ ऋणीका लागि ५ अर्ब ९१ करोड २९ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ ।

त्यसमध्ये ४ अर्ब ३५ करोड ९८ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ भने ब्याज अनुदानबापत १२ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुन बाँकी छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत बिना धितो १४६ ऋणीका लागि १४ करोड २५ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । त्यसमध्ये ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ ।

धितोसहिततर्फ ३ हजार ६७० ऋणीका लागि ५ अर्ब ७७ करोड ४६ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएकोमा ४ अर्ब २७ करोड २१ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको बैंकको विवरणमा उल्लेख छ ।

महिला उद्यमशीलता कर्जा अन्तर्गत १ हजार ३१२ ऋणीका लागि १ अर्ब १२ करोड ८९ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । यसमध्ये ३९ करोड ५६ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ भने ब्याज अनुदानबापत ७ करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुन बाँकी छ ।

दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ६४ ऋणीका लागि ३ करोड ८८ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । त्यसमध्ये २ करोड २४ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ भने ब्याज अनुदानबापत ५२ लाख २३ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त हुन बाँकी रहेको छ ।

उच्च तथा प्राविधिक एवं व्यावसायिक शिक्षा कर्जाअन्तर्गत ६ ऋणीका लागि २२ लाख ३० हजार रुपैयाँ कर्जा स्वीकृत भएकोमा १५ लाख ८ हजार रुपैयाँभन्दा बढी बक्यौता रहेको छ ।

त्यस्तै, भूकम्पपीडितको निजी आवास निर्माण कर्जाअन्तर्गत चार ऋणीका लागि ९ लाख रुपैयाँ स्वीकृत भएकोमा २ लाख ५१ हजार रुपैयाँभन्दा बढी बक्यौता रहेको छ ।

कपडा उद्योग सञ्चालन कर्जाअन्तर्गत एक ऋणीका लागि १ करोड रुपैयाँ स्वीकृत भएकोमा सोही रकम बक्यौता रहेको बैंकको विवरणमा उल्लेख छ ।

यसैगरी, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, युवा वर्ग स्वरोजगार कर्जा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमलगायतका प्रयोजनमा पनि बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

बैंकको विवरणअनुसार यी शीर्षकमा क्रमशः १० र २६ ऋणीका लागि ५७ लाख रुपैयाँ तथा १ करोड ८२ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । यस्तै, अन्य सम्बन्धित शीर्षकमा समेत बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको जनाएको छ ।

यस्तै, भुकम्प प्रभावित घरपरिवारलाई आवासिय घर पुननिर्माणका लागि १८१ ऋणीलाई ३१ करोड ८७ लाख ५६ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ ।

IME Lifesidebar
kumari