पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको र सञ्चार माध्यमको कार्यालयबाट सामग्री जफत गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा साउन २८ गते जारी विज्ञप्तिमा सम्पादक श्रेष्ठलाई साउन २७ गते बुधबार राति उहाँको निजी निवासबाट खानतलासी गरी पक्राउ गरिएको र बिहीबार बिहान सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटर लगायतका सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य भएको काउन्सिलले जनाएको छ।
काउन्सिलले पत्रकार वा सञ्चार माध्यमले आचारसंहिता उल्लङ्घन गरेमा काउन्सिलमा उजुरी दिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ।
कुनै समाचारको विषयमा चित्त नबुझेमा कानुनी प्रक्रिया अनुसार काउन्सिलमै उजुरी दिन सरोकारवाला सबै पक्षलाई काउन्सिलले विनम्र अनुरोधसमेत गरेको छ।






















