स्थानीयलाई प्रिमियम मूल्यमा आईपीओ बेच्न नहुने इप्पानको अडान
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था (इप्पान)ले स्थानीयलाई प्रिमियम मूल्यमा शेयर बेच्न नहुने अडान लिएको छ । आयोजना प्रभावित स्थानीयहरूका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन गर्ने विकल्पबारे छलफल भइरहेको बेला इप्पानले स्थानीयलाई आइपीओ प्रिमियम मूल्यमा बेच्न नहुने जनाएको हो ।
इप्पानका अध्यक्ष मोहन डाँगीले प्रतिकित्ता सय रुपैयाँमै स्थानीयलाई उपलब्ध गराउनु पर्ने बताए । उनले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीबासीलाई उपलब्ध गराउँदै आएको शेयर अंकित मूल्य अर्थात् प्रति कित्ता एक सय रुपैयाँ मै उपलब्ध गराइनु पर्छ भन्ने धारणा राखे ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार स्थानीयहरू लाभान्वित हुन भन्ने उद्देश्यले १० प्रतिशत शेयर दिने गरी कानुनी प्रबन्ध गरिएको छ ।
जलविद्युत आयोजना लगानीको माध्यम मात्रै नभएकाले स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान पनि रहेकोले सोही अनुसार व्यवस्था गर्न उनले आग्रह गरे ।
प्रिमियम मूल्यमा आईपीओ बेच्दा स्थानीयहरूमा अपनत्वको भावना कमजोर हुने तथा आयोजना र समुदायबिच वर्षौँदेखि निर्माणमा हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्ने सक्ने उनको भनाई छ ।





















