‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु
काठमाडौँ । ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ । आयोजक संस्थाले काठमाडौँको सोल्टी होटलमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो ।
मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमका लागि अझ भव्य तयारी गरेको बताइन् ।
आयोजकले प्रतियोगीहरूलाई ‘के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छ ?’ भन्ने प्रश्नसँगै मुख्य प्रतिस्पर्धामा सहभागी हुन आमन्त्रण गरेको छ ।
यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक वकालत र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइएको छ। प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यसवर्षको प्रतियोगिताको मुख्य प्रायोजक विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ।
त्यसैगरी नेपालकै अग्रणी प्रविधि ब्रान्ड एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण निर्माण गर्न सबै साझेदार संस्था प्रतिबद्ध रहेको बताइयो ।
यसवर्षका लागि टाइटल स्पोन्सर्डका रूपमा जोडिएको दिपलका सिईओ विवेक विवेक सिकारियाले मिस युनिभर्स नेपालसँग जोडिन पाउनु आफूहरुका लागि खुसीको कुरा रहेको बताए ।
आयोजकका अनुसार आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ। इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन् ।

























