stcnepal long ad
ime life insurance
national life
global ime bank long

नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाट नदीजन्य पदार्थ ठेक्का प्रकरणमा नगर प्रमुख श्याम प्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जना र एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले नगर प्रमुख यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बाल किशोर राय तथा भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रा.ली. र कम्पनीका मुख्य जिम्मेवार व्यक्ति राधेश्याम साहविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ का लागि गढीमाई नगरपालिकाले समनपुर नाकाबाट बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन, संकलन, बिक्री र निकासी गर्ने आन्तरिक आय ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्का भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली काठमाडौँले ३ करोड २५ लाख रुपैयाँमा सकार गरेको थियो ।

अनुसन्धानका क्रममा ठेकेदार कम्पनीले ठेक्का सम्झौताका लागि तोकिएको समयमा कबोल रकम दाखिला नगरेको अवस्थामा समेत रकम बुझाइसकेको भनी गलत विवरणका आधारमा प्रक्रिया अघि बढाइएको आयोगको दाबी छ ।

आयोगका अनुसार कम्पनीले सम्झौताका लागि निवेदन दिँदा ८४ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरेको थियो । तर, १ करोड रुपैयाँ रकम अघिल्लो मितिमै दाखिला भएको भनी गलत ब्यहोरा उल्लेख गरी टिप्पणी उठाइएको र सोही आधारमा ठेक्का सम्झौता गरिएको पाइएको छ ।

त्यसपछि सम्झौताका सर्तविपरीत ठेकेदार कम्पनीलाई नदीजन्य पदार्थ उत्खनन तथा निकासीको अनुमति दिइएको र कम्पनीले ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरी ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ ५८ पैसा बराबरको लाभ प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार ठेक्काबापत बुझाउनुपर्ने २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करतर्फको ४२ लाख २५ हजार रुपैयाँसमेत गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व चुहावट भएको छ ।

आयोगले प्रतिवादीहरूले प्रचलित कानुन, ठेक्का सूचना तथा सम्झौताका सर्तविपरीत कार्य गरी नेपाल सरकार र गढीमाई नगरपालिकालाई आर्थिक क्षति पुर्‍याएको दाबी गरेको छ ।

नगर प्रमुख यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर र तत्कालीन राजस्व शाखा प्रमुख रायविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरिएको छ ।

त्यस्तै, भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रा.लि. तथा कम्पनीका मुख्य जिम्मेवार व्यक्ति राधेश्याम साहलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारको आरोपमा प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध पनि २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari