युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो साधारणसभा
लाभांश वितरणपछि हकप्रद जारी गर्ने
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो वैशाख २७ गते आयोजना गर्ने निर्णय गरेको छ।
साधारणसभा सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको कुल ७.३६८४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश छन्।
लाभांश वितरणपछि हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरुबाट स्वीकृति र अनुमति लिन कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
साधारणसभा सभाले अन्य कम्पनीहरुमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीका रुपमा विकास गर्नका लागि कम्पनीको नाम परिवर्तन गर्ने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन तथा रायसुझावलाई समेट्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। साधारणसभा सभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव स्वीकृत गर्नेछ।
साधारणसभा सभाले दुईजना सञ्चालकको निर्वाचन गर्नेछ। साधारणसभा सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
लाभांश वितरण र साधारण सभा सभा प्रयोजनार्थ कम्पनीले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साधारण सभा सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

























