stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव रू ५ अर्ब ३० करोड मुनाफा वितरण गरेको छ ।

जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिव रू ५ अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिव रू। १० करोड ५५ लाख मुनाफा जम्मा गरिएको छ ।

कर्मचारी सञ्चय कोष सञ्चालक समितिको यही फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १०० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो ।

कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कूल मुनाफाको करिव ९० प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा को रुपमा सञ्चयकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र वाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषहरुमा राख्ने गर्दछ । यस्ता कोषहरुमा रहेको रकम आवश्यकता अनुसार सञ्चयकर्ताको हितमा खर्च हुने गर्दछ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा ४.२५ प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले कोषबाट ५.७५ प्रतिशत व्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।

यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ४.२५ प्रतिशत ब्याजदरमा मुनाफा १.०० प्रतिशत समेत जोड्दा जम्मा ५.२५ प्रतिशत हुने र विशेष सापटीको व्याजदर ५.७५ प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल भन्दा तिर्नुपर्ने ब्याज ०.५० प्रतिशत मात्र बढी रहन गएको छ ।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ ।

साथै, सञ्चयकर्ता र योगदानकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी तथा शिशु स्याहार सुविधा वापत १९ हजार १११ जना सञ्चयकर्तालाई करिव रू १४ करोड ३४ लाख, काजकिरिया अनुदान वापत ६०५ जनालाई करिव रू २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्ति वापत १७० जनालाई करिव रू ३ करोड ३९ लाख, स्वास्थ्य उपचार सोधभर्ना वापत ५ हजार ३५५ जनालाई रू। ३४ करोड र विशेष आर्थिक सुविधा वापत निजामतीतर्फका १७२ जना सञ्चयकर्तालाई करिव रू १ करोड ७३ लाख प्रदान गरिएको छ ।

हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ९६ हजारको सङ्ख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन् ।

prabhu mahalaxmi
kumari