भुजुङ्ग हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ आज माघ २७ गते मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज विहान ९ बजे आइपीओ बाँडफाँडको तयारी गरेको हो ।
यहि माघ १२ गतेदेखि १५ गतेसम्म खुला गरिएको आइपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता शेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका छन् ।
यस आइपीओ ८३ हजार जनालाई गोलाप्रथाबाट १०र१० कित्ताका दरले शेयर पर्ने छ । जस अनुसार २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
























