कर्जा सूचना केन्द्रले ८ प्रतिशत लाभांश गर्ने
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ८ प्रतिशतका दरले ३ करोड ४९ लाख ३०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते बिहान पौने १२ बजे होटल याक एण्ड यति काठमाडौंमा २१औं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व हुने वाणिज्य बैंक समूहको तर्फबाट ३ जना, विकास बैंक समूहको तर्फबाट १ जना र वित्त कम्पनी समूहका तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
यस्तै, साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक बीआरएस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गर्ने र वार्षिक ३ लाख रुपैयाँ पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।





























