नेपाली सेनाका रथी श्रेष्ठ ‘युएन फोर्स कमान्डर’ नियुक्त
काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त हुनु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले रथी श्रेष्ठलाई संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा बल अबेई (युनिस्फा) शान्ति मिसनको नयाँ फोर्स कमान्डरमा नियुक्त गरेको घोषणा गर्नुभएको छ ।
महासचिव गुटेर्रेसको कर्मचारी नियुक्तिबारे जारी विज्ञप्तिमा नेपाली सेनाका लेफ्टिनेन्ट जनरल श्रेष्ठलाई घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको उत्तराधिकारीका रूपमा युनिस्फाको नेतृत्वमा चयन गरिएको उल्लेख छ । अबेई (युनिस्फा) को लागि संयुक्त राष्ट्र अन्तरिम सुरक्षा बल (युनिस्फा) सन् २०११ जुन २७ देखि तैनाथ छ ।
गृहयुद्धमा दक्षिण सुडानको विवादित सीमा अबेईका नागरिकहरूको सुरक्षार्थ राष्ट्रसङ्घले अबेई क्षेत्रको सीमा निगरानी तथा सुरक्षार्थ शान्ति सेना र मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्ले आफ्नो कार्यादेश विस्तार गर्दै आगामी सन् २०२६ नोभेम्बर १५ सम्म उक्त मिसनलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ ।
फोर्स कमान्डर नियुक्त रथी श्रेष्ठले नेपाली सेनाको सुदूरपश्चिम डिभिजनको डिभिजन कमान्डर, दक्षिण सुडानमा संयुक्त राष्ट्र नियोग (अनमिस) मा सेक्टर इस्टका लागि सेक्टर कमान्डर लगायत राष्ट्रसङ्घीय शान्ति सेनामा नेतृत्वदायी पदहरूमा ३६ वर्ष काम गर्नुभएको छ ।
नेपाली सेनाको मुख्यालयमा मास्टर जनरल अफ अर्डिन्यान्समा कार्यरत श्रेष्ठले जङ्गीअड्डामा एडजुटेन्ट जनरलका रूपमा पनि काम गरिसक्नुभएको छ ।





























