stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पहिलो पटक छपाइ गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।। सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलो पटक छपाइ गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो ।

‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो । केन्द्रलाई प्राप्त एक हजार दुई सय आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ ।

अब अनुमतिपत्रको छपाइ निरन्तर हुने केन्द्रको भनाइ छ । अनुमति छपाइका लागि सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच गएको कात्तिक १२ गते सम्झौता भएको थियो । जस अनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान अनुमतिपत्र विभागलाई उपलब्ध गराउनुपर्ने छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ तीव्र गतिमा हुने बताउनुभयो । उहाँले विभागले जति धेरे तथ्याङ्क पठाउँछ सोही आधारमा जति पनि लाइसेन्स छाप्न सकिने उल्लेख गर्नुभयो ।

छापिएका नयाँ अनुमतिपत्रको नेपालकै प्रयोगशालामार्फत विभिन्न मापदण्डको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।

यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट अनुमतिपत्र प्राप्त भएसँगै यस क्षेत्रसँग सम्बन्धित ठुलो समस्याको समाधान भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विभागमा विगत चार÷पाँच वर्षदेखि लाइसेन्सको समस्या थियो । सेवाग्राहीको समस्या समाधानको सकारात्मक पहल भएको छ ।

पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ । यस कार्यलाई निरन्तरता दिइने छ ।” विभागले वैकल्पिक सफ्टवेर बनाएर दैनिक दुई हजार तथ्याङ्क केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ । एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाइ छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागसँगको सम्झौता अनुसार सुरुको तीन महिना महिनाको एक लाखका दरले तीन महिनामा तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी कुल १२ लाख अनुमति छपाइ गरिने छ ।

उहाँका अनुसार चालक अनुमतिपत्रका अतिरिक्त केही दिनभित्रै हुलाक टिकट छपाइ सुरु गर्ने तयारी गरिएको छ । त्यसपछि नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गरिने छ ।

केन्द्रबाट छपाइ हुने कार्डमा चिप्सको सट्टा क्युआर कोड प्रयोग गरिएको छ । यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने छ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहने छन्, जसमा केही दृश्य र केही अदृश्य रहने छन् ।

लाइसेन्सको सूचना फेसबुक पेजमा

यसैबिच यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को विवरण फेसबुक पेजमा राख्न थालेको छ । अब आफ्नो लाइसेन्स छापियो कि छापिएन भनेर फेसबुक पेज हेर्दा थाहा पाउन सकिने छ ।

लाइसेन्स तयार भएको जानकारी विभागको आधिकारिक फेसबुक पेजमा उपलब्ध छ । विभागले बिहीबार सूचना सार्वजनिक गरी जेनजी आन्दोलनमा कार्यालय ध्वस्त भएकाले अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएपछि फेसबुक पेजमार्फत जानकारी दिने व्यवस्था गरेको जनाएको छ ।

अत्यावश्यक सवारी लाइसेन्स छपाइका लागि अनलाइन फाराम भरेर स्वीकृत भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली हाल अवरुद्ध भएको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari