stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोर फाल्न भइरहेको अवरोध हट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत सरोज गुरागाईंसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जानुभएको थियो ।

मन्त्रीसहितको टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै ल्यान्डफिल्ड साइटमा पर्ने धादिङको धुनीबेँसी नगरपालिकाका प्रमुख, नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष र स्थानीय बासिन्दासँग अन्तर्क्रिया गरेको थियो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गर्नुभयो ।

“विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु, अहिले म आश्वासन दिन आएको हैन, कार्यान्वयन गर्छु,” उहाँले भन्नुभयो, “फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्, अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र संवादमार्फत सौहार्दपूर्ण रूपमा समस्या समाधान गर्छौं ।”

उहाँले फोहोर व्यवस्थापन अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढाइने आश्वासन दिनुभयो । “हामीले अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अगाडि बढाउँछौँ, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्छौं,” उहाँले भन्नुभयो ।

मन्त्री घिसिङले ल्यान्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार ‘सिजन’ को तथ्याङ्क आवश्यक पर्ने र पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले बुझिदिन स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोहीबमोजिम जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले अगाडि बढाएको प्रक्रियामा भएका कानुनी अड्चन काठमाडौँ उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा दैनिक सात सय टन फोहोर हुने गरेको काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । “काठमाडौँ, ललितपुर र भक्तपुर गरेर सरदर सात सय टन फोहोर हुन्छ । बन्द भएपछि करिब २५ सय टन फोहोर जम्मा भएको हुन सक्छ,” उहाँले भन्नुभयो ।

यस्तो छ सहमति

स्थानीयले उठाउँदै आएको फोहोरको लेदो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लेदोलाई खोलामा जान नदिन प्रशोधन गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ ।

ल्यान्डफिल्ड साइटमा जथाभाबी फोहोर फालिएको गुनासो सम्बोधन गर्न सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका एकरएक जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।

रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने बत्ती सोमबारबाटै राख्न सुरु गरिने प्रतिबद्धता जनाइएको छ । मन्त्री घिसिङले उक्त कार्य गर्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिनुभएको बताइएको छ ।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रीपरिषद्बाट आवश्यक निर्णय लिइने प्रतिबद्धता पनि जनाइएको छ ।

धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका वडाध्यक्ष, स्थानीय सरोकारवालाले विगतमा सहमति हुने तर कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताउनुभयो ।

उहाँहरूले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजनासहित अगाडि बढ्नुपर्ने, विगतमा गरिएका सहमति सम्झौता कार्यान्वयन गरिनुपर्ने बताउनुभएको थियो ।

prabhu mahalaxmi
kumari