stcnepal long ad
global ime bank long

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन, भदौ र असोजमा दुई लाख १० हजार ५१६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा एक लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । यस अनुसार चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३९ हजार ९१३ जनाले बढी हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको उहाँको भनाइ छ ।

विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग पनि बढेको जनाएको छ ।

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मध्यपूर्वी देश संयुक्त अरब इमिरेटस (युएई), साउदी अरब, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिकको रोकिएको भने पनि गएको असोजमा ती देशमा जान श्रम स्वीकृति लिएकाको सङ्ख्या हेर्दा त्यो सङ्केत देखिँदैन । युएई सरकारले असोजको पहिलो सातामा नै नेपालीका लागि भ्रमण भिसा बन्द नै गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायीले भने युएईले नेपालीलाई भ्रमण भिसासँगै श्रमिकको माग भिसा पनि रोकेको भन्दै आएका छन् । विभागबाट गएको असोजमा युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका छन् । युएईपछि कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिए भने साउदी अरबका लागि आठ हजार ७९१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कुवेतका लागि चार हजार ५२३ जना छन् ।

नेपाल रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले युएईले असोजमा नेपालीलाई भिसा दिन रोकेको असर मङ्सिर÷पुसदेखि मात्रै देखिने दाबी गर्नुभयो । भिसाको म्याद तीन महिनाको हुने भएकाले  त्यसपछि मात्रै देखिने अहिले  त्यो  सङ्ख्या हेरेर  रोकिएको  छैन भन्न  नमिल्ने दाबी उहाँको छ ।

विभागका अनुसार पछिल्लो चार वर्षमा २९ लाख ९८ हजार २६६ युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । चार वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख ४५ हजार ६६ युवाशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ ।

यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिने हुन्छन् । गत आवमा रोजगारी खोज्दै आठ लाख ३९ हजारभन्दा बढी युवा विदेश गएका थिए भने अघिल्लो वर्ष सात लाख ४१ हजार नेपाली रोजगारीका लागि बिदेसिएका थिए ।

IME Lifesidebar
kumari