यस वर्ष भाइटीकाको उत्तम साइत कति बजे ?
काठमाडौं । देशैभरी तिहारको रमझम आँगनमै आइपुगेको छ भने घरहरूमा झिलिमिलि बत्ति र तिहारका भाकाहरू गुन्जिन थालिसकेका छन्।
यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन काग तिहार मनाइएको छ भने आज दोस्रो दिन लक्ष्मी पूजा र कुकुर तिहार एकसाथ मनाइँदैछ। आज बिहान यमदूतको प्रतीक कुकुरलाई पूजा गरेर मीठा परिकार अर्पण गरी कुकुर पूजा मनाइएको छ भने आजै साँझ लक्ष्मी पूजाको तयारी घरघरमा गरिंदैछ।
आज साँझपख घर–घरमा दीप प्रज्वलन गरी लक्ष्मी भित्र्याउने गरिन्छ। आजको दिन घर, पसल र कार्यालयहरूमा सरसफाइ गरी रंगोली आदि बनाएर फूलमाला र दियोले सजाएर लक्ष्मीको विशेष पूजा आराधना गर्ने गरिन्छ। यसो गर्नाले घरमा धन र समृद्धिको वृद्धि हुने विश्वास रहिआएको छ।
त्यस्तै कात्तिक ५ गते गाईपूजा र गोरुपुजा एकसाथ मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले गाईलाई परापूर्वकालदेखि नै ‘माता’को रूपमा पुज्दै आएका छन्।
त्यस दिन गाई र गोरुलाई तिलक, फूलमाला आदिले पूजा गरेर मीठा परिकार अर्पन गर्ने गरिन्छ। मृत्युपछि गाईको पुच्छरमा समातेर वैतर्नी नामक नदी तरेर मात्र स्वर्ग पुगिने विश्वास रहिआएको छ।
यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक ६ गते भाइटीका पर्व मनाइँदैछ। त्यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै निधारमा सप्तरंगी टीका तथा माला लगाइदिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीहरूलाई उपहार तथा दक्षिणा दिएर स्नेह र आर्शीवाद प्रकट गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साहित बिहान ११ बजेर ३९ मिनेटमा रहेको बताएको छ।
कात्तिक ६ गते बिहीबार मध्यान्हकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिएइउको समितिले बताएको छ।
सर्वसाधारणका लागि मध्यान्हकालमा टीका लगाउन कुनै समस्या नपरेपनि राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने समितिले जानकारी दिएको छ।

























