stcnepal long ad
ime life insurance
national life
global ime bank long

उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ ।

जेनजी आन्दोलनपछिको अन्योलपूर्ण अवस्था र दसैँलगायतका चाडपर्वलक्षित गरी सार्वजनिक यातायात व्यवस्थित रूपमा सञ्चालन गर्न समिति गठन गरिने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको नेतृत्वमा यातायात व्यवसायी र सरोकारवाला निकायको आइतबार बसेको बैठकले विभिन्न छबुँदे निर्णय गरेको हो ।

बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठन हुने समितिले चाडपर्वका लागि उपत्यका छाड्ने सवारीसाधनको प्राविधिक जाँच गराउन र आवश्यकता अनुसार यात्रु सहायता कक्ष निर्माण गर्न सहजीकरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षलगायतका सरोकारवाला हुने छन् ।

साथै बैठकले जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराइने भएको छ । आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायतका सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने निर्णय पनि भएको छ ।

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय हुन सकेको छैन । यसबारे सोमबार यातायात व्यवस्था विभाग सहितका सरोकारवालासँग छलफल भएपछि टिकट खुला गर्ने मिति तय हुने अध्यक्ष स्वाँरले जानकारी दिनुभयो तर हाललाई जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने काम गरिने भएको छ ।

उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता यो एक साता काठमाडौँमा रोकिएका यात्रुलाई सुरक्षित रूपमा पु¥याउने र त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने कुरा भएको छ ।”

व्यवसायीद्वारा सुरक्षाको माग

बसपार्कमा असुरक्षा बढेको भन्दै यातायात व्यवसायीले सुरक्षाको माग गरेका छन् । आइतबार व्यवसायीले बसपार्क अनुगमन गरी असुरक्षा बढेको निष्कर्ष निकालेका हुन् ।

प्रहरी पोस्ट जलेको, बसपार्कसँगै जोडिएको लोत्से महल आगलागीमा ध्वस्त भएको र प्रहरीको उपस्थिति प्रभावकारी हुन नसकेको भन्दै सेनाबाटै सुरक्षा दिनुपर्ने व्यवसायीको माग छ ।

अध्यक्ष स्वाँरले भन्नुभयो, “बसपार्कमा असुरक्षा बढेको हामीले पाएका छौँ । अब मान्छेको भिड बढ्दै छ । मान्छेमा अझै पनि आवेग छ । दसैँका अवसरमा बसमै लुटपाट हुने खतरा बढेको छ ।

विगतमा यस्ता घटना नभएका होइनन् । डकैती, लुटपाट र दादागिरी हुन सक्ने सम्भावना देखिएकाले बसपार्कमा सुरक्षा अत्यन्त जरुरी छ ।” आइतबार भने सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएको महासङ्घले जनाएको छ ।

IME Lifesidebar
kumari