citizens life insurance long ad
stcnepal long ad

यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल जनप्रशासन संघले पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई २०८१ सालको ’हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने भएको छ। नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा श्रेष्ठलाई न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्ने निर्णय भएको छ।

पुरस्कार राशी साल्ट ट्रेडिङ कर्पोशनले प्रायोजन गर्दछ। आज असार २४ गते मंगलबार आयोजित पत्रकार सम्मेलनमा  दिइएको जानकारी अनुसार आगामी  असार २६ गते बिहीबार एक कार्यक्रम गरि पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दनपत्र सहित नगद दुई लाख रुपैयाँसहितको सम्मान अर्पण गरिनेछ ।

कल्याण श्रेष्ठले कानून र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए।

उनी मुलुकका २५ औँ प्रधान न्यायाधीश हुन्। दश वर्षे सशस्त्र द्वन्द्वको अवसान, बृहत् शान्ति सम्झौता र संविधान सभाको निर्वाचनजस्ता महत्त्वपूर्ण राजनीतिक संक्रमणका बखत उनको न्यायिक सक्रियता उल्लेखनीय रहेको जनप्रशासन संघले पत्रकार सम्मेलनमा जनाएको छ ।

श्रेष्ठको नाम चयन गर्न पूर्व गृह सचिव तथा लोक सेवा आयोग अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित छनोट समितिले गरेको हो । समितिमा संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला र संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा रहेका छन् ।

हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना गरिएको थियो। सार्वजनिक वितरण, सेवा र व्यवस्थापन क्षेत्रमा स्वर्गीय हेमबहादुर मल्लको योगदानको कदर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा उक्त सम्मान स्थापना गरिएको छ ।

नेपाल जन–प्रशासन संघले यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा जस्ता व्यक्तित्वलाई सो सम्मान प्रदान गरिसकेको कर्पोरेशन जनाएको छ ।

IME Life
kumari