ट्रेड टावर लिमिटेडको आइपीओ असार १ गते बाँडफाँट हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओ (असार १ गते) आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार असार १ गते आइतबार ट्रेड टावरको आइपीओ बाँडफाँट हुने मिति तय भएको छ । यद्यपि बाँडफाँट समय भने अझै तय भएको छैन ।
ट्रेड टावरको आइपीओ हात पार्न भाग्यकै भर पर्नु पर्नेछ । यसमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।