सरकारले चैत १९ गते १२ अर्ब ७५ करोड रुपियाँ बराबरको ट्रेजरी बिक्री गर्ने

काठमाडौं । सरकारले आउँदो मंगलबार (चैत १९ गते) पौने १३ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । यसअघिनै बिक्री भएको तर परिपक्क भएको ९१ दिने र १८२ दिने ट्रेजरीलाई सरकारले पुनः बिक्री (नवीकरण) गर्न लागेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार नवीकरण हुने १२ अर्ब ७५ करोड रुपियाँ बराबरको ट्रेजरीको सोमबार (चैत १८ गते) सार्वजनिक बोलकबोल हुने जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ११ गते १९ अर्ब ४९ करोड २० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
ट्रेजरी बिल सरकारी ऋणपत्रको अल्पकालीन औजार हो । न्यूनतम् २८ दिनदेखि अधिकतम् ३६४ दिन अर्थात् एक वर्षका लागि लिइने यस्तो ऋण बैंक तथा वित्तीय संस्थाहरुबाट उठाउने गरिन्छ ।