२५ अर्ब ७७ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा २५ अर्ब ७७ करोड रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३५४ परियोजना मार्फत २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको सो अवधिमा २२ अर्ब ३३ करोड ६५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
गत आर्थिक वर्षको तुलनामा तीन अर्ब ४३ करोड ९९ लाख रुपियाँ लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ ।
लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना परियोजनामा देखिएको छ । समीक्षा अवधिमा दर्ता भएका परियोजनामध्ये ३४५ साना परियोजना, पाँच वटा मझौला र चार वटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।
नेपालमा लगानी गर्ने भनेर लगानीकर्ता पर्यटन र उद्योग क्षेत्रमा आकर्षित देखिन्छन् । सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन र सेवामूलक क्षेत्रमा रहेको छ । छ महिनामा पर्यटनमूलक क्षेत्रमा १६ अर्ब ९६ करोड ६५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
यो कुल लगानीको ६६ प्रतिशत हो । यस्तै सेवा क्षेत्रमा पाँच अर्ब १५ करोड बराबरको लगानी प्रतिबद्धता हो । यो कुल लगानीको २० प्रतिशत हो । यस्तै सूचना प्रविधि क्षेत्रमा ७४ करोड, कृषि क्षेत्रमा ७४ करोड, उत्पादनमूलक क्षेत्रमा २० करोड लगानी प्रतिबद्धता आएको छ ।
यस्तै स्वचालित मार्गबाट दुई अर्ब ३८ करोड १५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । गत वैशाखदेखि स्वचालित मार्गबाट लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा आएको थियो । सोही अनुसार स्वचालित मार्गबाट लगानीकर्ताले लगानी गर्दै आएका छन् ।
विभागका अनुसार यस अवधिमा स्वचालित मार्गबाट १५४ परियोजना अन्तर्गत दुई अर्ब ३८ करोड १५ लाख १२ हजारको लगानी प्रतिबद्धता आएको छ ।
स्वचालित मार्गबाट ५० करोडसम्मको लगानी स्वीकृत गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले विदेशी लगानीकर्ताले घरबाटै लगानीको स्वीकृति लिन सकिने सुविधाकै कारण विदेशी लगानीकर्ताले यसमा आकर्षित देखिन्छन् ।
स्वचालित मार्गबाट लगानी स्वीकृत गर्ने व्यवस्थाले साना लगानी गर्ने लगानीकर्ताले उद्योग दर्ता गराउन विभाग नै धाइरहनुपर्ने झन्झटबाट मुक्त भएको छ ।
यसैबिच पहिलो पाँच महिनामा छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । गत आर्थिक वर्षको सो अवधिमा तीन अर्ब ९३ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको तुलनामा चालु आवको छ महिनामा दुई अर्ब ९० करोड रुपियाँ बढी लगानी भित्रिएको हो ।
छ महिनामा तीन अर्ब ५० करोड रुपियाँ नेपालबाट पुँजीगत ट्रान्सफर भएको छ । गत आवको सो अवधिमा दुई अर्ब ८७ करोड रुपियाँ पुँजीगत ट्रान्सफर भएको थियो ।