आज मंसिर २८ गते कालिन्चोक दर्शनको आइपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको आइपीओमा आवेदन दिने आज मंसिर २८ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् ।
कालिन्चोक दर्शनले मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी ६० करोडको २५ ले हुने १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । तसर्थ, स्थानीयले १ लाख २० हजार कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् ।
यता, सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ ।
यसको आइपीओमा ९ करोड ९४ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार मंसिर २७ गतेसम्म ५ हजार ६१५ जनाले ९ लाख ९४ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ । कालिन्चोक दर्शनको आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । दोलखा जिल्लास्थित मेगा बैंक र सेञ्चुरी बैंकका तोकिएका शाखाहरुबाट पनि यो आइपीओमा आवेदन दिन सकिने छ ।
केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।


























