सेबोनको अध्यक्षमा तीन जनाको नाम सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीन जना नाम सिफारिस गरिएको छ। अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको फागुन २ गते बसेको बैठकले सेबोन अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले यी तीन जनामध्येबाट एक जनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने भएको छ। सेबोनको अध्यक्ष पदमा १५ जनाको आवेदन परेको थियो । तीमध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्टमा पारेको थियो।
सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेका ५ जनामध्ये निरज गिरी र खगेन्द्र कटुवाल सेबोनको अध्यक्ष हुने दौडबाट नाम हटाएको छ । सिफारिस गरिएका मध्ये सेबोनको अध्यक्षमा हमालको नियुक्ति हुने सम्भावना रहेको छ ।
हमाल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकटका व्यक्ति हुन्। त्यसैले सरकारले उनलाई अध्यक्षमा नियुक्त गर्ने अत्याधिक सम्भावना रहेको छ।
सर्वोत्तम सिमेन्ट सेयरको भित्री कारोबार प्रकरणमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले गत असोजमा बर्खास्त गरेपछि सेबोनको अध्यक्ष पद लामो समयदेखि रिक्त छ। जसका कारण सेबोनबाट हुने काम कारबाही प्रभावित भएका छन्।





















