पुँजी बजारमा वैकल्पिक लगानीका अवसरहरु कहिलेबाट होला सुरु ?
आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६
काठमाडौं । हेज फन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता वैकल्पिक लगानी कोषलाई नयाँ उपकरणको रुपमा पुँजी बजारमा भित्र्याउने प्रक्रिया थालिएको १ वर्ष पूरा हुँदा पनि यसले पूर्णता पाएको छैन । नेपाल धितोपत्र बोर्डले २०७५ फागुन २७ गते हेज फन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटलजस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बनाई लागू गरेको थियो । तर, यो लागू भएको १ वर्ष पूरा भइसक्दा पनि यी वैकल्पिक लगानीका कोष व्यवस्थापकहरु कार्यान्वयनमा आएका छैनन् ।
अहिले ६ वटा संस्थाहरुले कोष व्यवस्थापनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । आवेदन दिनेमा नबिल इन्भेष्टमेन्ट बैंकिङ., लक्ष्मी क्यापिटल मार्केट, एनएमबि क्यापिटल, कृति क्यापिटल एन्ड इन्भेष्टमेन्टस्, एनआइसी एसिया क्यापिटल र ग्लोबल इक्विटी फन्ड प्रालि. रहेका छन् ।
यी संस्थाहरुले आवेदन दिंदा आवश्यक सम्पूर्ण कागजपत्र तथा प्रक्रिया पूरा नगरेकाले यिनीहरु सञ्चालनमा आउन विलम्ब भएको उनले बताए ।
आवश्यक सबै प्रक्रिया पूरा गरेर प्राप्त भएका निवेदनमाथि अध्ययन गरेपछि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा पेश गरिने उनले जानकारी दिए । नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ बजेट वक्तव्यमा नै हेज फन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल लगायतका वैकल्पिक लगानीका माध्यमलाई पुँजी बजारमा प्रवेश गराइने उल्लेख गरिएको थियो ।
सोही अनुसार धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम हेज फन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल सञ्चालन गर्न बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बनाई लागू गरेको हो ।
यस नियमावलीमा हेज फन्ड, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल गरी ३ प्रकारका विशिष्टिीकृत लगानीका क्षेत्र खुला हुने व्यवस्था गरिएको छ । हेज फन्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले लुकेका तथा छोपिएका अवसरहरुलाई पहिचान गरी अर्थतन्त्रमा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ । यिनीहरुका माध्यमबाट नयाँ वित्तीय साधन प्रयोग गरी लगानी व्यवस्थापन गर्न सकिन्छ । यसबाट पुँजी बजारमा नयाँ वित्तीय साधन र विधिको प्रवेश हुने विश्वास गर्न सकिन्छ ।
पुँजी बजारमा सुरु गर्न लागिएको विशिष्टीकृत लगानी कोषका नयाँ वित्तीय उपकरणको प्रयोगले परम्परागत लगानीका अतिरिक्त नयाँ अवधारणासहितका व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ । यसले पुँजी बजारको दायरा फराकिलो हुने, नवीनतम् उद्यम तथा व्यवसायलाई सञ्चालनका लागि पुँजी जुटाउन सहज हुनेछ ।
साथै, आम लगानीकर्तालाई नयाँ लगानीको अवसर प्राप्त हुनेछ । यसले लगानी परिचालनमा साथमा वैदेशिक लगानी भित्र्याउन लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कोष व्यवस्थापकको कार्य गर्न के गर्नु पर्छ ?
कोष व्यवस्थापकको कार्य गर्ने संस्थाको चुक्ता पुँजी कम्तीमा २ करोड रुपैयाँ हुनुपर्नेछ । प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाले उक्त कोषको स्थापना तथा सञ्चालन गर्न धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । कोष व्यवस्थापकको त्यस्ता कोषमा न्यूनतम २% हिस्सा हुनुपर्छ । सो न्यूनतम हिस्सा निरन्तर कायम राख्ने व्यवस्था भएको (द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थाले लगानी गरेको कोषको हकमा उक्त व्यवस्था लागू नहुने) हुनुपर्छ । इकाईधनीको संख्या २ सय भन्दा बढी हुन नहुने, कोष बन्दमुखी प्रकृतिको हुने, इकाईधनीलाई प्रतिफलस्वरुपः नगद लाभांश मात्र दिने लगायतका व्यवस्था हुनेछ ।
प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र हेज फन्ड भनेको के हो ?
प्राइभेट एक्विटी फन्ड भन्नाले कोषको उद्देश्य प्राप्तिका लागि सर्वप्रथम स्वःपुँजी वा स्वःपुँजीसँग सम्बन्धित अन्य उपकरण वा लगानी गर्ने कम्पनीका साझेदारहरुको इच्छा बमोजिम लगानी गर्ने एउटा कोष हो । प्राइभेट इक्विटीले कुनै कम्पनीको पूरै इक्विटी खरिद गरेर आफ्नो नियन्त्रणमा लिने गर्दछ ।
आफ्नो नियन्त्रणमा लिए पश्चात निश्चित समयसम्म त्यस कम्पनी सञ्चालन गरी आफ्नो सेयर सर्वसाधारणमा बिक्री गरी पुँजी बजारमा सूचीकरण गर्ने व्यवस्था समेत गर्न सक्छ । पुँजीको अभावमा राम्रोसँग सञ्चालन हुन नसकेका यस्ता संस्थाहरूलाई प्राइभेट इक्विटी फन्डले पुँजी उपलब्ध गराई व्यवसाय विकास एंव विस्तार गर्न सहयोग पुर्याउँछ ।
यता, भेन्चर क्यापिटल भनेको पुँजी बजारमा सूचीकरण नभएका कम्पनी, जुन सञ्चालनको प्रारम्भिक चरणमा रहेका वा सञ्चालन प्रक्रिया अगाडि बढिसकेका हुन्छन् । नवीनतम् ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय यस अन्तर्गत पर्छ ।
अर्को शब्दमा, नवीनतम् उद्यम तथा व्यवसाय सञ्चालन गर्न सेयर स्वामित्व पुँजीमा लगानी गर्ने कोष हो । यसले नयाँ र साना सुरुआती कम्पनीहरूमा सयुक्त लगानी गर्ने गर्दछ ।
यस्तै, हेज फन्ड भन्नाले लगानीको उच्च जोखिम रहेको जुनसुकै क्षेत्रमा लगानी गर्न सक्ने गरी स्थापना भएको कोष हेज फन्ड हो । हेज फन्डले एकै समयमा एउटै प्रकारका धितोपत्रका औजारहरु किन्ने र बेच्ने गर्दछ । जसलाई लङ र सर्ट पोजिसन पनि भनिन्छ । यसरी यसले हेजको अवस्था सिर्जना गर्ने गर्छ । हेजको अवस्थामा पनि दोहोरो फाइदा लिने गर्दछ । विकसित मुलुकहरुमा लगानीका यी तीनवटै माध्यम निकै पहिलेदेखि सञ्चालन हुँदै आएका छन् ।
तर नेपालको सन्दर्भमा भने यी उपकरण नयाँ हुनेछन् । यसले समग्र धितोपत्र बजारको आकार र आयातन फराकिलो बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । यसबाट धितोपत्र बजार विस्तार तथा लगानीका थप अवसरहरुको सिर्जना हुनेछ । नयाँ सीप, क्षमता र सोचलाई प्रवद्र्धन गर्न पनि मद्दत मिल्नेछ । साथै, पुँजी अभावमा रचनात्मक सोचलाई कार्यान्वयन गर्नबाट बञ्चित हुनुपर्ने छैन ।