वार्षिक ४० अर्ब कारोबार गर्ने अम्बे स्टील्सले आइपीओ निष्कासन गर्ने

काठमाडौं । नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग श्री जय अम्बे स्टील्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । वार्षिक ४० अर्ब कारोबार गर्ने कम्पनीले आइपीओ निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
अम्बे स्टील्स र एनआइएमबी एस क्यापिटलका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । यसको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् ।
कम्पनीले साधारणसभाबाट सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गरिसके पश्चात् बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । २०७६ मा स्थापना भएको जय अम्बे स्टील्सको उत्पादन क्षमता १ हजार टन प्रतिदिन रहेको छ । ‘अम्बे’ ब्रान्डअन्तर्गत क्षेत्रको ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको कम्पनीको दाबी छ ।
पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्लाको नेपालगञ्जमा रहेको छ भने उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टील, एम।एस बिलेट, एम।एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स लगायत उत्पादन गर्दै आएको छ ।
कम्पनीले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराउने बताएको छ । कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको दाबी गर्दै स्टील आयातको आवश्यकतालाई न्यून गर्दै गएको बताएको छ ।
कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन सर्वसाधारणबाट पुँजी जुटाएर उद्योग विस्तार गर्ने रणनीति लिएको छ ।