अमेरिकामा देखिन थाल्यो इरान युद्धको असर, अर्थतन्त्रको वृद्धि अपेक्षाभन्दा कम
अमेरिकाको अर्थतन्त्र चालु वर्षको दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्मको अवधिमा अपेक्षाभन्दा कम दरले वृद्धि भएको आधिकारिक तथ्यांकले देखाएको छ।
अमेरिकी वाणिज्य विभागका अनुसार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रको वार्षिकीकृत वृद्धि दर १.५ प्रतिशत रहेको छ। पहिलो त्रैमासिकमा भने आर्थिक वृद्धि २.१ प्रतिशत थियो।
विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाले इजरायल–इरान युद्धका आर्थिक प्रभावको सामना गरिरहेका बेला र अमेरिकी व्यवसायहरू थपिएको भन्सार शुल्कका कारण दबाबमा रहेका समयमा यो तथ्यांक सार्वजनिक भएको हो।
दोस्रो त्रैमासिकको आर्थिक वृद्धि विश्लेषकहरूले गरेको अनुमानभन्दा कम देखिएको छ। यसको मुख्य कारण सरकारी खर्च, लगानी तथा निर्यातमा आएको कमी रहेको बताइएको छ।
यद्यपि, उपभोक्ता खर्चमा भएको वृद्धिले अर्थतन्त्रलाई केही राहत दिएको छ। अमेरिकी आर्थिक गतिविधिमा दुईतिहाइभन्दा बढी हिस्सा ओगट्ने उपभोक्ता खर्च दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतको दरले बढेको छ।
वर्षको सुरुवातमा भने उपभोक्ता खर्चको वृद्धि दर घटेर केवल ०.५ प्रतिशतमा सीमित भएको थियो।
अमेरिकी अर्थतन्त्रको यो तथ्यांक सार्वजनिक हुँदा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार पाँचौँपटक ब्याजदरमा कुनै परिवर्तन नगरेको अवस्था छ।





















