प्रिमियर इन्स्योरेन्स एनपीआईमा आबद्ध
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीए र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन,सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानी लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने जनाएको छ।
यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने छ।
यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्। यसरी एनपीआईमा जोडिएपछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ।
एनपीआईसँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको सफ्टवेयर पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ। जसले प्रिमियर इन्स्योरेन्स लगायत १७ अन्य र्निजिवन बीमा कम्पनीहरुलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।
प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा ननलाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन्। यसका साथै ७ लाइफ इन्स्योरेन्स कम्पनीहरु यस अघि नै आईपीएसमा आबद्ध रहेका छन्।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ।
जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी तथा पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरु लगायतका ६८ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्थित व्यावसायिक समूहहरु तथा उद्योगपतिद्वारा स्थापना गरिएको आईएसओ सर्टिफाइड र्निजिवन बीमा कम्पनी हो। सदैव आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको प्रिमियर इन्स्योरेन्सले नयाँ र पृथक प्रोडक्टहरुद्वारा गुणास्तरीय सेवा प्रदान गर्दै आएको छ।
साथै एनसीएचएलसँगको यस साझेदारीले डिजिटल माध्यमबाट इन्स्योरेन्स सेवाहरु ग्राहकहरुसमक्ष पुर्याउनमा विशेष मद्दतपुग्ने अपेक्षा गरेको जनाएको छ।






















