आइएमई लाइफ इन्स्योरेन्सद्वारा ईलाममा १०२ बीमितलाई सम्मान
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सद्वारा इलाममा आयोजित ‘बीमित सम्मान तथा चियापान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। एमडीआरटी रामबहादुर मगर (ब्ल्याक डायमण्ड ग्रुप) को आयोजनामा सम्पन्न कार्यक्रममा १०२ जना बीमितलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि आइएमई लाइफ इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख मिलन दाहालले जीवन बीमाको आवश्यकता र महत्वबारे प्रकाश पार्दै बीमा भविष्यलाई सुरक्षित बनाउने प्रभावकारी माध्यम भएको बताए। उनले बदलिँदो समयसँगै आर्थिक सुरक्षाका लागि जीवन बीमाको महत्व अझ बढ्दै गएको धारणा व्यक्त गरे।
त्यसैगरी विशिष्ट अतिथि एमडीआरटी नेपाल टप लिडरले बीमा गरेपछि प्राप्त हुने सुविधाका साथै वर्तमान परिस्थितिमा जीवन बीमा किन आवश्यक छ भन्ने विषयमा सहभागीलाई विस्तृत जानकारी गराए। उनको प्रस्तुति सहभागीहरूका लागि जानकारीमूलक र प्रेरणादायी समेत बनेको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा एमडीआरटी रामबहादुर मगरले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे। कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्सको इतिहासकै पहिलो एमडीआरटी मीना गुरुङको विशेष उपस्थिति रहेको थियो।
बीमा अभियन्ता, अभिकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्मान, अनुभव आदानप्रदान तथा चियापानका कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रमले सहभागीहरूमा जीवन बीमाप्रति सकारात्मक सोच, जागरण र प्रेरणा फैलाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।





























